मध्यमाञ्चल विकास क्षेत्रको वागमती अंचलका जिल्लाहरुमध्येको भक्तपुर एक हो। यो जिल्ला नेपाल अधिराज्यको सबभन्दा सानो जिल्ला पनि हो। जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग कि.मि.छ(केतवि, २०५८)। जिल्लाको क्षेत्रफल जिविसको अभिलेख अनुसार १३८.४८वर्ग किमि र को अभिलेख अनुसार १२७.३८वर्ग किमि रहेको छ। आजिवियो विश्लेषण प्रयोजनका लागि स्रोत उल्लेख नभएको हकमा केतविको तथ्यांकलाई नै प्रयोग गरिएको छ। भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव कोखरी डाँडाको श्रृङखला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गेखोला रहेको छ। यस जिल्लाको पूर्व र पूर्व-दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ भने उत्तर र पश्चिममा काठमाडौँ र पश्चिम दक्षिणमा ललितपुर जिल्ला रहेको छ। भक्तपुर नगरमा जिल्ला सदरमुकाम रहेको यस जिल्लामा १६ वटा गाउँ विकास समितिहरु र २ वटा नगरपालिकाहरु रहेका छन्। यस जिल्लालाई दुईवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको विकास प्रयोजनाका हिसाबले यस जिल्लालाई ११ वटा इलाकामा विभक्त गरिएको छ ।
|